काठमाडौं, बैशाख ४ । राजधानीमा जारी त्रिदेशीय टी-ट्वान्टी क्रिकेटमा नेपालले आफ्नो पहिले खेलमा नेदरल्यण्ड्सविरुद्ध सानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध ९ विकेटको जित निकालेको हो।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतीमा पूरा गर्यो। नेपाललाई जित दिलाउन डेब्यु खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले। नेपालका लागि कुशलले ६२ रनको योगदान दिए। यस्तै आसिफ ५४ र ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक मात्र विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए। त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए। खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र शाहब आलम एक एकविकेट लिएका थिए।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ। यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ। यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ।


























