बैशाख ३ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो।
मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै क्रिस मोरिसले अविजित ३६ रन जोड्दा जयदेव उनाकडले अविजित ११ रन बनाए। राहुल टेवाटिया १९ रनमा आउट भए।
दिल्लीका अभेस खानले ३ विकेट लिए। क्रिस वोक्स र कागिसो राबडाले २/२ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै टम कुरानले २१ रन जोड्दा ललित यादवले २० रन बनाए। क्रिस वोक्सले अविजित १५ रन बनाए। राजस्थानका जयदेव उनाक्डले ३ विकेट लिए। मुस्ताफिजुर रहमानले २ विकेट लिए।
जितसँगै राजस्थानले २ खेलमा २ अंक जोडेको छ। राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ। दिल्ली २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ। दिल्लीको यो पहिलो हार हो। एजेन्सी


























