चैत्र २९ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को तेस्रो खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नईमा सुरु हुने छ।
दुबै टोली विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन्। कोलकाताको कप्तानी इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र हैदराबादको अष्ट्रेलिया ओपनर डेविड वार्नरले गर्ने छन्। यी दुबै ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित अन्तर्राष्ट्रिय नाम हुन्।
कोलकाताले चार विदेशी खेलाडीको कोटामा सकिब अल हसन, मोर्गन, आन्द्रे रसेल र प्याट कमिन्सलाई मौका दिने सम्भावना छ। ओपनिङ सुभमन गिल र नितेश रानाले गर्ने सम्भावना छ। मोर्गन, दीनेश कार्तिक र सकिब हल हसनले मध्यक्रममा ब्याटिङ सम्हाल्ने छन्।
फिनिसरमा आन्द्रे रसेल छन्। रसेलले आफ्नो लय समाएका टोलीलाई सहज जित दिलाउन सक्छन्। आक्रामक र ठूला सटका लागि परिचित रसेलले एकै ओभरमा खेललाई मोड्न सक्छन्। प्याट कमिन्स पनि तल्लोक्रममा ठूला सट प्रहार गर्न सक्छन्। हरभजन सिंह र बरुण चक्रबर्तीलाई स्पिन हतियार हुन्। तीव्र गतिमा प्याट कमिन्सलाई प्रसिद्ध कृष्णा र कमलेश नगरकोटीले साथ दिने सम्भावना छ। हैदराबादले आफ्नो चार विदेशी खेलाडीको कोटामा वार्नरसँगै जोनी बेयरस्टो, राशिद खान र जेसन होल्डरलाई मौका दिन सक्छ। बेयरस्टोको स्थानमा विलियम्सनलाई पनि मैदान उतार्न सक्छ।
यी दुबै खेलाडीलाई बेन्चमा राखेर जेसन रोयलाई वार्नरका साथ ओपनिङ गराउन सक्छ। ओपनिङ वार्नर र बेयरस्टोले गर्ने छन्। मध्यक्रममा मनिष पाण्डे, प्रियम गर्ग र विराट सिंहलाई मौका दिन सक्छ। तल्लोक्रममा युवा ब्याट्सम्यान अब्दुल सामद कोलकातालाई घातक बन्न सक्छन्। अब्दुल ठूला सटको लागि परिचित उदाउँदा भारतीय युवा अलराउन्डर हुन्। तीव्र गतिका बलरमा भुवनेश्वर कुमार र टि नटराजन हुने छन्। नटराजन योर्करका लागि माहिर छन्। पछिल्लो समय भारतीय टोलीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
गतवर्ष दुबै खेलमा कोलकाता विजयी भएको थियो। पछिल्ला पाँच खेलको भेटमा कोलकाता तीन खेलमा विजयी भएको छ। २ खेलमा पराजित भएको छ। यी दुई टोलीबीच कुल १९ खेल भएको छन्। जसमा कोलकाता १२ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ।


























