काठमाडौं, चैत्र २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन्।
आज नेपाल दलित संघले काठमाडौँमा आयोजना गरेको जिल्ला भेलामा नेता सिंहले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताए।
नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसदमा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिए। विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति जनाउँदै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गरे।
नेता सिंहले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताए। अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनले बताए। नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताए।


























