चैत्र २९ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ।
गएराती सम्पन्न यस सिजनको पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो। चेन्नईले दिएको १८९ रनको लक्ष्य पछाएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
दिल्लीका लागि शिखर धवनले सर्बाधिक ८५ रन बनाए भने पृथ्वी शाले ७२ रन बनाएका थिए। दुवैले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए।
त्यस्तै कप्तान ऋषव पन्तले अविजित १५ रन बनाए भने मार्कोस स्टोइनिसले १४ रन बनाए। चेन्नईका श्रदुल ठाकुरले २ विकेट लिए भने डवाने ब्राभोले एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो। चेन्नईका लागि सुरेश रैनाले ३६ बलमा ५४ रन बनाएका थिए। त्यस्तै मोईन अलीले ३६ रन बनाए भने रविन्द्र जडेजाले २६ रन, अम्बाती रायडूले २३ र साम कुरानले ३४ रन बनाए।
त्यसैगरी दिल्लीका बलर क्रिस वोक्स र अवेश खानले २(२ विकेट लिए भने रविचन्द्रन आश्विन र टम कुरानले एक एक विकेट लिए। एजेन्सी


























