काठमाडौं, चैत्र १९ । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगिताको पहिलो खेलमा आज महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल १० बजे सुरु हुनेछ।
पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ। पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ। दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ।
चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन्।
यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन्। लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन्। उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन्।


























