चैत्र १६ । पाहुना टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ। पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले कब्जा गरेको हो।
भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो। इंग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन्। डाविड मालनले ५० रनको इनिङ्स खेल्दा लियाम लिभिङस्टोनले ३६ रन बनाए।
यस्तै बेन स्टोक्सले ३५, मोइन अलीले २९ रन जोड्दा कप्तान जोस बट्लरले १५ रन बनाए। आदील राशिद १९ र जासन रोय १४ रनमा आउट भए। मार्क उड पनि १४ रन बनाएर आउट भए। भारतका सार्दुल ठाकुरले ४ विकेट लिए। भुवनेश्वर कुमारको नाममा ३ विकेट रह्यो।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो। भारतका लागि ऋषव पन्तले ७८ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
यस्तै हार्दिक पाण्डयले ६४ रनको इनिङ्स खेले भने रोहित शर्मा ३७ रनमा आउट भए। शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डयले २५ रन बनाए। एजेन्सी


























