न्युजिल्यान्ड, चैत्र १५ । बंगलादेशबीचको ३ खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्ड विजयी भएको छ। उसले बंगलादेश माथि ६६ रनको सहज जित हात पारेको हो।
न्युजिल्यान्डले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले पुरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो। बंगलादेशका लागि अफिफ हुसेनले सर्वाधिक ४५ रनको योगदान दिए। १६.४ ओभरमा लोकी फर्गुसनले बोल्ड गराउनुअघि उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
मोहम्मद सैफउद्दिन अविजित ३४, मोहम्मद नइमले २७ र कप्तान मोहमुदुल्लाहले ११ रनको योगदान दिदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। न्युजिल्यान्डका इस सोढीले ४, लोकी फर्गुसनले २, टिम साउदीले र हमिस बेनेटले १/१ विकेट लिए।
ह्यामिल्टनस्थित सेडनपार्कमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको योगफल तयार पारेको थियो। उसका लागि डिभोन कोनवे र विल योङ्गले उत्कृष्ट प्रदर्शन गरे। कोनवे ५२ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे।
योङ्गले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले ५३ रन प्रहार गरे। ग्लेन फिलिप्सले अविजित २४ र मार्टिन गुप्टिलले ३५ रनको योगदान दिए। बंगलादेशका नसुम अहमदले २ र मेहदी हसनले १ विकेट लिए।
जितसँगै न्युजिल्यान्डले सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो टि-२० मार्च ३० मा हुनेछ। एजेन्सी

























