मकवानपुर, चैत्र ९ । सरकारले आज सोमबारबाट चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरबाट गैंडा गणना कार्य सुरु गरेको छ।
वन तथा भू–संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणना कार्य शुभारम्भ गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।
गैंडा गणना शुभारम्भ गरिएको बताउँदै मन्त्री आलेमगरले दुर्लभ हुँदै गएको एकसिंगे गैंडा संरक्षणका लागि सरकार लागिपर्ने बताए। मनहरी गाउँपालिका वडा नम्बर ७ को प्रतापपुरबाट हात्तीको लस्कर लिएर सुरु गरिएको गैंडा गणनाको कार्य नेपालमा ६ वर्षपछि सुरु गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्यका लागि ६० वटा हात्ती प्रयोग गरिएको छ।
गैंडा गणनाका लागि विभिन्न ब्लक निर्धारण गरिउको छ। सोही बमोजिम चितवन राष्ट्रिय निकुञ्जलाई १९ वटा ब्लकमा बिभाजन गरिएको छ। गणना कार्यमा गैंडा बस्ने स्थान, उनीहरुको उमेर, उनीहरुको शारीरिक स्थिती लगायतका विषयमा जानकारी संकलन गरिने जनाइएको छ।


























