काठमाडौं, चैत्र ९ । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमा एपीएफ र प्रदेश-१ भिड्ने भएका हुन्। टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेल चैत २१ गते हुनेछ। एपीएफ र प्रदेश-१ बीचको खेल बिहान ९ बजे सुरु हुनेछ।
पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ बीच खेल हुनेछ। चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ। प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन्। हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन्।


























