काठमाडौं, चैत्र ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक परिस्थितिका बारेमा बैठकमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका रुपमा पूर्ववत् पार्टीमा फर्किएपछि नयाँ सत्तासमीकरणको चर्चा सुरु भएको छ। कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिँदै आएको छ। सभापति शेरबहादुर देउवा भने त्यसमा मौन देखिएका छन्। पौडेल पक्षका एक पदाधिकारीका अनुसार आजको बैठकमा पनि सरकारबारे सभापति देउवाको मौनताको विषयमा कुरा उठाउने तयारी छ।
हिजो बसेको पौडेल पक्षको बैठकले सरकारको विकल्प खोज्नुपर्ने र त्यसका लागि सभापति देउवाले अग्रसरता लिनुपर्ने निष्कर्ष निकालेको थियो।


























