काठमाडौं, चैत्र ९ । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन्। आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर पड्किएको भक्तपुर प्रहरीले जनाएको छ।
आगलागीमा परेर होटल सञ्चालक सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, उनका आफन्त कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन्। भने सेवाग्राहीहरू भक्तपुर, सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते सबैको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट दुईवटा फ्रिज, घरको ढोका र झ्याल जलेर नष्ट भएको छ। रासस
Facebook Comments


























