काठमाडौं, चैत्र ६ । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले रेशम चौधरी थारु भएकै कारणले जेलमा बस्नु परेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्। शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन्।
उनले परराष्ट्रमन्त्री प्रदीप यादवले विप्लव, सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकार सफल भएको भन्ने भनाइमा उनले कटाक्ष गरे। ‘परराष्ट्रमन्त्रीज्यूले राजनीतिको बखान गरेर जानु भयो। मन्त्रीज्यू यहाँले सिके राउतलाई मुलधारमा ल्यायौँ। ठिकै हो धन्यावाद छ। विप्लवलाई ल्याउनु भो धन्यावाद छ,’ उनले भने, ‘यो कुरा गरिरहँदा थरुहट आन्दोलनमा होमिएका रेशम चौधरी तपाईंजस्तै तपाईं जत्तिकै हैसितयतले संसदमा हुनुपर्यो। थारु भएकै कारण जेल बसनुपर्ने ? त्यतातिर ध्यान नदिने ? हामी कस्तो प्रणालीमा बाच्दैछौं।’
उनले संविधानमा विभिन्न समस्या देखिएको पनि बताए। ‘संविधानमा विभिन्न समस्याहरु देखिएको छ। ‘बबुर’ रोपेपछि अंगुर कहाँ खान पाइन्छ ?’ उनले भने, ‘हाम्रो दल अहिले पनि सहमतीय राजनीतिको पक्षधर हो। हामी मुलुकलाई अघि बढाउने हो भने निषेध होइन हातेमोलो गरौं। आत्म समीक्षा गरौं।’ हिजो विश्वकै उत्कृष्ट संविधान भन्नेहरुले नै असंवैधानिक कदम चालेको बताएका छन्। यादवले यो संविधान मान्दैनौँ भन्नेहरुले नै संविधान बचाउन आन्दोलन गर्नुपरेको भन्दै व्यंग्य गरेका हुन्।
हामी हिजो संविधान मान्दैनौं भन्ने शक्तिहरु संविधान बचाउनुपर्छ भनेर आन्दोलन गर्यौँ इतिहासले कस्तो कोल्टौ फेर्दो रहेछ,’ उनले भने, ‘समाजवाद भनेको आर्थिक या राजनीतिक टर्मिनोलोजी मात्रै होइन। यहाँहरु आफ्ना् अनुकलतामा पक्ष विपक्षमा बाँडिनुहुन्छ। हामीले त्यति बेलै भनेका थियौं। सम्पूर्ण नेपालीको भावनात्मक आन्तरिक राष्ट्रियता मजबुत भएन। गणतन्त्र बचाउने सबैको भावना समेट्ने गरी संविधान निर्माण गरौं।’ यादवले पार्टीको झगडा व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै आपत्ति जनाए।
उनले रेशम चौधरीको विषय उठाउँदा लेनदेनको कुरा बनाएको भन्दै आपत्ति जनाए। उनले बाहिर हल्ला भएजस्तो जसपाभित्र कुनै समस्या नरहेको पनि उनले दाबी गरे। ‘चौधरीको कुरा गर्दा सरकारको लेनदेनको कुरा बनाउँछ। त्यसलाई लेनदेनको विषय बनाइनु हुँदैन। त्यो राजबन्दी हो,’ उनले भने, ‘जसरी सिके राउतसँग व्यवहार भयो। यो जसरी विप्लसँग व्यवहार भयो। त्यसरी नै गरेर समाधान गर्नुपर्छ। नकि त्यसलाई सरकारमा आउने जाने विषय बनाइनु हुँदैन।’


























