काठमाडौं, चैत्र ५ । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिईने जनाएको छ।
तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने एन्फाले जनाएको छ। दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ। एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ।
एन्फाले यस पटक टिकट मूल्यमा वृद्धि गरेको छ। एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको छ। दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ। किर्गिस्तानको यू-२३ टिम हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन्। उद्घाटन खेल २३ मार्चमा हुनेछ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ। राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा कुल ४ खेल हुनेछ।


























