काठमाडौं, चैत्र ४ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
समूह ‘बी’ मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन्। प्लानिङको यो पहिलो खेल हो भने चर्चको दोस्रो खेल हो। पहिलो खेलमा चर्चले ओसिस क्लबलाई ४-१ ले हराएको थियो।
दोस्रो खेलमा विरगंज युथ एकेडेमी र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ को विरगंज र झापाबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। विरगंज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। पहिलो खेलमा विरगंजले सानेपा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।
झापा भने पहिलो जितको खोजीमा हुनेछ। उद्घाटन खेलमा झापा खालीबारी युथ क्लबसँग २-१ ले पराजित भएको थियो। आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन्। सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ। यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ। प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ।


























