बागलुङ, फागुन २७ । पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेस युवा नेता गगनकुमार थापाले नेकपाको हैसियतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सरकार चलाउने हैसियत सकिएको बताएका छन्।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको मतमाथि धोका दिएको भन्दै काम गर्न नसकेकोमा दुवै पक्षले जनतासँग माफी माग्नुपर्ने बताए। नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं जिल्ला प्रतिनिधिसभा बिहीबार उद्घाटन गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नारा दिएर जनताको पक्षमा काम गर्नु साटो ओलीले धोका दिएको बताए।
निर्वाचन जितेर गएपछिका कुनै बैठकमा जनताको जीविकाबारे एउटा बैठक र बहस नभएको उनले टिप्पणी गरे। ‘कोरोना संकटको एक महिनामा प्रधानमन्त्रीले के गर्छन् भनेर नियाल्दा एकपटक पनि पीडितबारे छलफलसमेत नगरेको भेटियो’, थापाले भने, ‘आफ्नै पद जोगाउने झगडाबाहेक जनताले केही देख्न पाएनन्।’ कांग्रेसले ५० लाख रुपैयाँ लगेर सरकारी खातामा राखिदिँदासमेत सरकार र नेतृत्व गरेको दल झगडामा मस्त थियो। बरु अर्काको पार्टी फुटाउने दौडमा अपहरणको नाटक गरिरहेको उनले आरोप लगाए।
नेकपाको वैधानिकता समाप्त भएपछि सरकारको पनि वैधानिकता सकिएको भन्दै राजीनामा दिनुपर्नेमा अझै निरंकुश शासकझैं बसिरहेको पनि आरोप लगाए।


























