काठमाडौं, फागुन २७ । विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।
अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ। फाइनल खेल शनिबार हुनेछ। मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले। शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे। यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए। पवन सर्राफ भने सुन्य रनमा आउट भए। काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए। यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए। बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए। एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए।


























