फागुन २७ । म्यानमारमा बिहीबार भएको प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडिया र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिहीबार भएको प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको हो।
सर्वोच्च नेता आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार बिहीबार मात्रै म्याइङ्ग अस्पतालका डाक्टरले ६ जनालाई मृत घोषणा गरेका छन्। अन्य एक जनाको अवस्था एकदमै गम्भीर भएर अस्पताल ल्याइएकोमा पछि मृत्यु भएको रोयटर्सले लेखेको छ।
म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ।
म्यानमारमा भएको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि भएको ज्यादतीविरुद्ध मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ। एमनेस्टीले सैन्य शासकले अब प्रदर्शनकारीहरुमाथि युद्धको रणनीति अपनाउन लागेको जनाएको छ।
एक फेब्रुअरीमा म्यानमारको सेनाले जनप्रतिनिधिहरुलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेको थियो। सत्ता कब्जापछि त्यहाँ दैनिक प्रदर्शनहरु भइरहेका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रदर्शनकारीहरुमाथि भइरहेको हिंसाको आलोचना गर्दै त्यहाँका सेनाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ। एजेन्सी


























