काठमाडौं, फागुन २५ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ। टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।
बागमतीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ। एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो।
यस्तै दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित निकालेको थियो। बागमती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ। बागमतीले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। पहिलो खेलमा पुलिससँग २ रनले पराजित बागमती दोस्रो खेलमा काठमाडौं मेयर-११ सँग ९४ रनले पराजित भएको थियो।मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।
आर्मी र पुलिस दोस्रो जितको खोजीमा रहेका छन्। पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो। पुलिसले भने पहिलो खेलमा बागमतीलाई हराएको थियो। दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो।


























