काठमाडौं, फागुन २४ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं मेयर-११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो। काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले। प्लेयर अफ द म्याच बनेका उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे।
यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रन बनाए। कप्तान विनोद भण्डारीले अविजित २० रन जोड्दा राजेश पुलामी ८ रनमा अविजित रहे।काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २/२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो। काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए। उनले ७४ बलमा २ चौका र २ छक्का प्रहार गरे। सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए।
त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए। आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ विकेट लिए। जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १/१ विकेट लिए।
जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ। आर्मी पहिलो खेलमा पराजित भएको थियो। आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले पराजित भएको हो। काठमाडौंको यो पहिलो हार हो। काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ।


























