काठमाडौं, फागुन २४ । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १ सय ५६ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनायो। काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए। उनले ७४ बलमा २ चौका र २ छक्का प्रहार गरे।
सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए। त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए। आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ विकेट लिए। जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १/१ विकेट लिए।
आज विभागीय टिम आर्मी पहिलो जितको खोजीमा रहेको छ। पीएम कप क्रिकेटको विजेता आर्मी पहिलो खेलमा पराजित भएको थियो। विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले पराजित भएको हो।
आर्मी अंक विहीन रहेको छ। काठमाडौं भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो। काठमाडौंले प्रतियोगितामा १ खेलमा २ अंक जोडेको छ।


























