मुम्बई, फागुन २४ । बलिउड फिल्म ‘दबंग’ हेर्नुभएको छ भने सलमान खानको ‘चुलबुल पाण्डे’ र अभिनेत्री सोनाक्षी सिन्हाको ‘रज्जो’ चरित्र अवश्य सम्झिनुभएको होला।
यो फिल्ममा प्रहरी अधिकृतको भूमिकामा सलमान देखिँदा उनकी ‘रज्जो’ अर्थात् सोनाक्षी भने सलमानको श्रीमतिको भूमिकामा थिइन्। अमर उजालामा प्रकाशित समाचारअनुसार अब यिनै ‘रज्जो’ अर्थात् सोनाक्षी अब मोबाइलको स्क्रिनमा दबंग प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन्। एक निर्माणाधिन वेब सिरिजमा प्रहरी अधिकृत बनेकी सोनाक्षीको यो लुक्स अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण युनिटले सार्वजनिक गरेको छ।
यो वेब सिरिजको निर्माता फरहान अख्तर र जोया अख्तर हुन्। फरहानको कम्पनी एक्सले मिडिया एण्ड इन्टरटेनमेन्ट र उनकी बहिनी जोयाको कम्पनी टाइगर बेबीले गत वर्ष लकडाउन खुकुलो भएपछि गोवामा एक वेब सिरिजको सुटिङ शुरु गरेकी थिइन्।
रिमा कागती र रुचिका ओबेरोयको संयुक्त निर्देशनमा बनेको यो सिरिज सोनाक्षीको लागि ‘डिजिटल डेब्यू’ हो। ३३ वर्षीया सोनाक्षीको पछिल्लो फिल्म ‘घूमकेतू’ हो, जुन ओटीटी प्लेटफर्मममा रिलिज भइसकेको छ। यो फिल्मको सुटिङ सोनाक्षीले ‘लुटेरा’को समयमा गरेकी थिइन्। एजेन्सी


























