चितवन, फागुन २४ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘नेकपा’ नाम विवादमा अदालतको निर्णयमा असन्तुष्टि जनाएका छन्। एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसला न्यायलयलाई राजनीतिकरण गर्नुको परिणाम भएको टिप्पणी गर्दै मिश्रले फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
अदालतको फैसलापछि उनले आफूलाई ठिक्क पर्यो भन्न मन लागेको उल्लेख गर्दै ट्वीटरमार्फत् दलका नेताहरुलाई व्यंग्य गरेका छन्। न्यायलय, न्याय परिषद, संवैधानिक आयोग सबैतिर राजनीतिक भागबण्डा गर्नुको दुष्परिणाम आइतवारको फैसला भएको भन्दै संयोजक मिश्रले राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन्।
“अब फेरि न्यायलयमा राजनीतिक भागबण्डा गर्ने रु फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने ? बार एसोशिएशनमा पार्टीगत प्यानल खडा गर्ने ? ‘के गरिस् मंगले आफ्नै ढङ्गले’ भनेको यही हो। भन्न त ‘ठिक्क पर्यो’ भन्न मन लागेको थियो तर भनेर के गर्नु ! अति भयो। यी सबै राजनीतिकरण बन्द गरौँ,” मिश्रले लेखेका छन्।
आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रको एकता खारेज गरिदिएपछि सत्तारुढ ‘नेकपा’मा थप संकट देखिएको छ।


























