काठमाडौं, फागुन २२ । विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशलाई २ रनले हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो।
रोमान्चक बनेको खेलमा पुलिसले दिएको ७३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभर २ बलमा अलआउट हुँदै ७० रनमा समेटियो। बागमतीले ४३ रन जोड्दा मात्र २ विकेट गुमाएको थियो। तर, थप २७ रन जोड्दा बागमतीले ८ विकेट गुमाएपछि पुलिसले सनसनीपूर्ण जित निकालेको हो।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए। आदील खानले १० रन जोड्दा पृथु बास्कोटा ९ रनमा आउट भए। इशान पाण्डेले ७, आकाश थापाले ४ रन बनाए। विपिन आचार्य ८ रनमा आउट हुँदा अरियो पौडेल १ रनमा अविजित रहे। पारस खड्का, सोनु देवकोटा,नन्दन यादव र राम नरेश गिरि सुन्य रनमा आउट भए। पुलिसलाई जित दिलाउन दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए।
यस्तै ललित राजवंशीले ३ तथा सागर ढकालले २ विकेट लिए। राशिद खानले १ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो। मैदान ओसिलो भएको कारण ३८ ओभरमा घटाईएको खेलमा पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए।
यस्तै सुनिल धमला, अनिल शाह र दिलिप नाथले समान १०/१० रन बनाए। पुलिसलाई सस्तैमा समेट्न बागमतीका अरियो पौडेल एक्लैले ७ रन खर्चिएर ४ विकेट लिए। नन्दन यादवले ३ तथा सोनु देवकोटाले १ विकेट लिए। जितसँगै पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ। बागमती प्रदेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन्।


























