फागुन १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे। रियाद महरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो। उल्भ्सका कोर्नर कोएडीले एक गोल फर्काउदा लिन्डर डेनडोनकरले आत्मघाती गोल गरे। खेलको १५ औं मिनेटमा लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो।
खेलको ५६ औं मिनेटमा कोएडीले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए। तर, ८० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। ९० औं मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ३-१ को पुग्यो। त्यसपछि खेलको इन्न्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए। यससँगै सिटीले सबै खाले प्रतियोगितामा गरि लगातार २१ औं जित निकाल्न सफल भएको छ।
जितसँगै सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध १५ अंकको अग्रता समेत बनाएको छ। सिटीले २७ खेलमा ६५ अंक जोडेको छ। २६ खेलमा युनाईटेडको ५० अंक रहेको छ। उल्भ्स ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ। एजेन्सी


























