चितवन, फागुन १७ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक भएको छ। धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरेको हो।
फाउण्डेशनले सार्वजनिक गरेको खर्च विवरण अनुसार रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ। फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ।
तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ। फाउन्डेशको अनुसार परियोजना निर्माणको लागि १।१० प्रतिशत पैसा संकलन भएको छ। जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ।
रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशले जानकारी दिएको छ। आर्थिक अभाव र ऋणकै कारण रंगशाला निर्माण कार्य अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको फाउन्डेशले जनाएको छ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ। २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो। रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ।
रंगशाला निमार्ण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको छ। भने प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको जानकारी दिए।


























