काठमाडौं, पुस २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा गरेको सम्बोधनपछि अमेरिका र इरानबीच बढ्दै गएको युद्धको खतरा तत्काललाई टरेको छ। ट्रम्पले आफ्नो सम्बोधन क्रममा इरानमाथि थप सैन्य कारबाहीको सम्भावना देखाएनन्। इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो, उनले भने, शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार छ।
गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो। उक्त अमेरिकी हमलाको जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैनिक अखडामा दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको थियो। यसले दुई देशबीच द्वन्द्व चर्किनुका साथै युद्धको सम्भावना बढाएको थियो।
पछिल्लो समय दुवै देशबाट आएको प्रतिक्रियाले यो खतरा टरेको देखिन्छ। हमलालगत्तै इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट जवाफी कारबाही सकिएको बताएका थिए। यसैलाई राष्ट्रपति ट्रम्पले विश्वकै लागि खुसीको कुरा भनेका हुन्।
इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै ‘अन्तिम जवाफ’ हुने राष्ट्रपति रूहानीको भनाइप्रति संकेत गर्दै इरानले पनि शान्ति चाहेको ट्रम्पको अभिव्यक्ति थियो।
उनले इरानबाट भएको उक्त हमलामा अमेरिकी सेनालाई केही नभएको पनि जानकारी दिए। अमेरिकी सैनिक अड्डामा केही सामान्य क्षति भयो। तर कोही हताहत भएनन्, उनले भने।
ट्रम्पले नेपाली समयअनुसार बुधबार राति १०:१५ बजे सम्बोधन गर्ने क्रममा भने ‘म राष्ट्रपति रहेसम्म इरानलाई आणविक हतियार राख्न दिन्न’ भने। इरानी सैनिक कमान्डर सुलेमानी पहिले नै मारिनुपर्ने बताउँदै उनले भविष्यमा कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन इरानलाई चेतावनी दिए। उनले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा समेत गरे।
तत्काललाई युद्ध टर्ने देखिए पनि भविष्यमा दुई देशबीचको तनाव फेरी नबढ्ला भन्न सकिँदैन। इरानका थुप्रै छद्म समूहहरूले भविष्यमा कुनै न कुनै नयाँ तनाव सिर्जना गराउन सक्छन्।
जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए। आतंकवादविरूद्ध उनले नलडेका भए युरोपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे, इरानी राष्ट्रपतिले बुधबार साँझ आफ्नो आधिकारिक ट्वीटमा भनेका छन्, सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।
इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको गालामा थप्पड हानेको बताएका थिए। बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको जानकारी दिएका हुन्।
‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीको भनाई थियो, ‘मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्छ। अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ।’