काठमाडौँ, ०४ भदौ। भारत सरकारले नेपाललाई भूकम्पपछिको पुनर्निर्माणको लागि २ अर्ब ४५ अर्ब नेपाली रूपैयाँ सहयोग उपलब्ध गराएको छ। बुधबारदेखि चलेको नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकका क्रममा दुई देशका परराष्ट्र मन्त्रीको उपस्थितिमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई पुनर्निर्माणको लागि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
भारत सरकारले उपलब्ध गराएको उक्त रकम नुवाकोट र गोरखामा पुनर्निर्माणका लागि खर्च गरिनेछ। भारतले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ।
त्यस्तै भारत सरकारले तराई भेगका सडक स्तरोन्नतिका लागि ८० करोड भारतीय रूपैयाँ उपलब्ध गराएको छ। नेपाल–भारतबीच खाद्यवस्तु तथा तरकारीलगायतका वस्तुहरूको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ। भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन्।
विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरी गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्यवस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परीक्षण गर्नु गराउनु पर्दैन। बिहीबारसम्म चल्ने उक्त बैठकको लागि भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतीय विदेश मन्त्री एस जयशंकरले र नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका छन्।
1 Comments
Articles Journal
Thank you Indian government