फागुन १३ । इंग्लाण्डविरूद्धको तेस्रो टेष्ट क्रिकेटमा घरेलु टिम भारतले उत्कृष्ट प्रदर्शन गरेको छ। चार टेष्ट सिरिज खेल्न भारत भ्रमणमा रहेको पाहुना टोली इंग्लाण्ड तेस्रो टेष्टको पहिलो इनिङ्समा ११२ रनमा अलआउट भएको छ। अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो दिनमै १ सय १२ रन जोड्दा अलआउट भएको हो।
इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। भारतका अक्षर पटेलले ६ विकेट लिए। रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए।
पहिलो दिनमै जवाफी ब्याटिङ थालेको भारतले २८.५ ओभर खेल्दै २ विकेटको क्षतिमा ९० रन बनाएको छ। भारत पहिलो इनिङमा अब २२ रनले मात्रै पछि छ। दुई टिमबीचको चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ। एजेन्सी


























