काठमाडौं, फागुन १० । नेपालमा पहिलोपटक फ्रेन्चाइज मोडलमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ को पहिलो संस्करण सञ्चालन हुने जानकारी दिइयो।पहिलो संस्करणमा देशभरिका विभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरहरुका फ्रेन्चाइज टिमहरु सहभागी हुनेछन्।
टिमको नाम र टिम मालिकको जानकारी एक विशेष समारोहका बीच यसै महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिइएको छ। अक्सनको माध्यमबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिने नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘यस प्रतियोगिता गर्नुको मुख्य उद्देश्य निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडीहरू र फुटबल खेललाई थप व्यवसायिक बनाउन टेवा पुर्याउने हो,’ विज्ञप्तिमा भनिएको छ।
हरेक टिममा विदेशीसहित विभिन्न श्रेणीका २० खेलाडीहरु रहनेछन्। राउन्ड रोविन लिग फर्म्याटमा हुने प्रतियोगितामा १९ खेलहरु हुनेछन्। खेलाडीको श्रेणी छुट्याउने काम एन्फासँगको सहकार्यमा हुने जनाइएको छ।


























