चितवन, फागुन ९ । जनता समाजवादी पार्टी नेपाल र समाजवादी युवा संघ रत्ननगर समितिको आयोजनामा आज (आइतबार) रत्ननगरमा संविधानसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्ध विरोध सभा सम्पन्न भएको छ।
प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमविरुद्ध पार्टीको केन्द्रीय समितिको पत्रअनुसार विरोध सभा आयोजना गरिएको हो। समाजवादी युवा संघका जिल्ला उपाध्यक्ष रवि थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा पुनःस्थापना हुनुुपर्ने, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनपर्नेलगायतका नारा लगाइएको थियो।
विरोध र्याली सौराहाचोकदेखि टाँडीचोक पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल चितवनका सहइन्चार्ज अजय निरालाले केपी ओलीको प्रतिगामी कदमविरुद्ध जारी जनसंघर्षलाई निरन्तरता दिँदै आन्दोलन जारी राख्ने बताए।
कार्यक्रममा समाजवादी युवा संघका सुनिल चौधरी, किरण भट्ट, ज्याक्सन मैनाली, रामचन्द्र बस्नेत, मनीष गुरूङ, निकेश महतो, सुदीप थापा मगर, उज्ज्वल जंग क्षत्री, रवि चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।