काठमाडौं, फागुन ९ । पटक-पटक अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक आजका लागि आह्वान गरिएको छ। तर आजको बैठक पनि सत्ता पक्षकै सांसदले अवरुद्ध गर्ने तयारी गरेका छन्। प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको हो।
नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। आजको बैठकमा राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ। तर, सत्तारुढ ओली समूहले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका हुन्। ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठक पनि अवरुद्ध गरिने बताए।
यस अघि माघ २५ गतेको बैठक पनि ओली समूहका सांसदले अवरुद्ध गरेका थिए। ओली समूहका सांसदले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए।
सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई प्रक्रियामा लैजानुको साटो ओली पक्षका सांसदले बैठक नै अघि बढ्न नदिने रणनीति लिएका छन्। ओली पक्षले प्रचण्ड–माधव पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको छ भने प्रचण्ड–माधव पक्षले ओली समूहका ८ जना सांसदलाई कारवाही गरेका छन्।


























