काठमाडाैं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भर्त्सना गरेको छ। अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गतवर्ष बदर गरेर वर्तमान सरकारले यस अघि प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो। फेरि शुक्रबार त्यही प्रवृत्ति दोहोर्याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत आरोप लगाए।
निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई सरकारले आन्तरिक दबाब दिएको आरोप लगाउँदै कांग्रेसले सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु गलत र आपत्तिजनक रहेको टिप्पणी गरेको छ। कांग्रेसले सरकारको यस कदमप्रति विरोध जनाउँदै यस्ता कार्य अविलम्ब रोक्न चेतावनीसमेत दिएको छ। – रासस
Facebook Comments


























