काठमाडौं, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विद्यमान समस्या समाधान गर्न गोलमेच सम्मेलन र संवाद आवश्यक भएको उनले बताएका छन्।
‘देश आन्दोलित र अस्थिर बन्दैछ। यो स्थितिप्रति राप्रपा चिन्तित छ। यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने।
यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरुरी भएको छ। यसबारे छलफल र विचार गर्नुपर्छ भन्ने पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको हालैको भनाइलाई सबै पक्षले सकारात्मक रुपमा लिनु पर्दछ,’ उनले शुक्रवार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने।
‘राजनीतिक समस्या समाधान भयो, अब समृद्धिको युग सुरुवात हुनेछ भनि तीन वर्ष अगाडि जनतालाई भनिएको थियो तर परिस्थिति ठिक उल्टो भएको छ। देशको राजनीति अस्थिर र अन्योलपुर्ण छ । सरकारको गराइ र भनाइ विल्कूल फरक छ’, लोहनीले भने।
कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘नारा प्रजातन्त्रको छ तर व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख छ,’ अध्यक्ष लोहनीले भने।


























