काठमाडौं, फागुन ७ । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लबले अपराजित यात्रा कायम रहदै उपाधि चुमेको छ। शुक्रवार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सुरु लिम्बुले दुई गोल गरिन्। अनिता केसीले एक गोल गरिन्। खेलको ४५ औं मिनेटमा सरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले अनिता केसीको पासलाई सदुपयोग गरिन्।
खेलको ८६ औं मिनेटमा अनिताले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाईन्।
जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो। एपीएफले १२ खेलमा ३६ अंक जोड्यो। लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो।
उपाधिसँगै एपीएफले १५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो। तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन्।


























