काठमाडौं, फागुन ७ । राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ। पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ। पुलिस ११ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। अन्तिम खेलमा जित निकालेमा पुलिस तेस्रो स्थानमा रहनेछ।
चौदण्डी भने अन्तिम खेलमा जित निकाल्न चाहन्छ। चौदण्डी ११ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ। अर्को खेलमा च्याम्पियन बनिसकेको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।
एपीएफ र आर्मीबीचको खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ। दुई खेल अगाबै च्याम्पियन बनिसकेको एपीएफ आर्मीलाई हराएर अपराजित रहदै च्याम्पियन बन्न चाहन्छ। एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ। आर्मी भने अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ। दोस्रो स्थान पक्का रहेको आर्मीको ११ खेलमा २६ अंक रहेको छ।


























