मुम्बई, फागुन ६ । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन्। कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ। यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ।
यो फिल्मको निर्देशन अजय देवगनले गरिरहेका छन्। फिल्ममो लगानी पनि उनकै रहनेछ। यो फिल्मको गत डिसेम्बरमै हैदराबादमा केही प्रतिशत छायांकन गरिएको थियो। बाँकी छायांकन मुम्बईबाट सुरु गरिएको छ। थ्रिलर ड्रामा भनिएको यो फिल्मबाट दर्शकहरूले फेरि अमिताभ र अजयलाई एकसाथ पर्दामा देख्न पाउनेछन्।
यसअघि अमिताभ र अजयले मेजर साब, खाकी, सत्याग्रह, हिन्दुस्तानकी कसम, हम किसी से कम नहीजस्ता फिल्ममा सँगै काम गरेका छन्। आफूहरूको जोडी यो नयाँ फिल्ममा पनि दर्शकलाई लागि विशेष हुने अजय देवगनको कथन छ। एजेन्सी


























