चितवन, फागुन ६ । दुई जना मान्छे खाएका कारण चितवन राष्ट्रिय निकुञ्ज कसराको एउटा बाघ अपराधको सजाय भोगिरहेका छन्। उनलाई कारागाररुपी खोरमा राखिएको छ।
त्यहाँ एउटा फलामले घेरिएको पर्खाल छ। त्यही पर्खालभित्र नरभक्षी बाघलाई राख्ने ठूलो खोर छ। फलामले बारिएको खोरभित्र नरभक्षी बाघले सजायको पाँच महिना बिताएको छ। निकुञ्जले दिएको जानकारी अनुसार यो बाघको उमेर ६ वर्ष भएको छ। यो बाघ नेपालको सबै भन्दा ठूलो भाले बाघ हो।
उक्त बाघले वनमा घाँस काट्न गएका एक पुरुषलाई मारेको थियो। बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका–१३ का ६० वर्षीय बाबुराम महतोलाई भदौ २२ गते नरभक्षीले आफ्नो आहारा बनाएको थियो।
नरभक्षीले बाटुली पोखरीमा मान्छे खाएको एक महिना नपुग्दै फेरि अर्को पुरुषको पनि ज्यान लिएको थियो। असोज १० गते बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीलाई खाएको थियो।
मृतकका छोराले बाबुलाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए। यसले राप्ती नदी तरेर पारी जंगलभित्र लगेर चौधरीलाई खाएको निकुञ्ज स्रोतले बताएको छ। यो नरभक्षी बाघलाई औषधियुक्त सुई प्रहार गरी लठ्याएर (डार्ट गरी) समातिएको थियो। त्यसपछि नरभक्षी बाघलाई निकुञ्जको मुख्यालय कसरामा रहेको खोरमा राखिएको हो।


























