चितवन १ फागुन । स्काउटका संस्थापक तीर्थराज श्रेष्ठद्वारा लिखित ‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ नामक पुस्तक शनिबार विमाेचन गरिएको छ। भरतपुरमा भएकाे कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विमाेचन गरेका हुन्। हिमालय खबर अनलाइन पत्रिकाले प्रकाशन गरेकाे पुस्तक १३६ पृष्ठ लामाे छ। उमेरले ७५ वर्ष नाघिसकेका न्याैपानेको पुस्तकमा ४० जना लेखकले लेखेका रचना समेटिएका छन्।
पुस्तकमा न्यौपानेको बल्यकालदेखि वर्तमानसम्मकाे जीवनी कहानी समेटिएको छ। जीवनको करिब पाँच दसक लामो समयसम्म स्काउटमा समय बिताएका न्यौपानेको जीवन संघर्ष र स्काउट सेवाका विषयमा अन्तर्राष्ट्रिय व्यक्तिले गरेको बयानसमेत पुस्तकमा समावेश गरिएको छ।
पुस्तकबारे आफ्नाे धारणा राख्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विश्व परिवेश सुहाउँदो नागरिक उत्पादनमा न्यौपानेको भूमिका महत्त्वपूर्ण रहेको बताए। स्काउटमा लागेर समाज परिवर्तनमा लागेका व्यक्तिको जीवनीले समाज परिवर्तमा थप सहयोग पुग्ने उनले बताए। चितवन साहित्य परिषदका पूर्व अध्यक्ष केदारनाथ खनालले बुढेशकालमा पुस्तक लेखेर युवा लेखकहरुमा उर्जा भर्ने काम गरेकाे बताए। न्याैपानेकाे पुस्तक प्रकाशनले जाेकसैलाई पनि जीवनमा पुस्तक लेख्नुपर्छ भन्ने भाव जगाउन सफल भएकाे उनकाे भनाइ छ।
प्रकाशककाे तर्फबाट पुस्तक र लेखकबारे बाेल्दै हिमालय खबर अनलाइन पत्रिकाका सम्पादक विजय घिमिरेले जीवनमा गर्नुपर्ने सबै कर्तब्य पूरा गरेकाे बताए। याे उमेरमा पनि पुस्तक लेखनमा कलम चलाएर समाजमा सकारात्मक छाप छाड्न सफल भएकाे उनकाे भनाइ छ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद जग्गनाथ पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, शिक्षाविद् रमाकान्त सापकोटालगायतले आ-आफ्ना धारणा राखेका थिए भने अग्रज साहित्यकार गोविन्दराज विनोदीले न्याैपानेकाे जीवनीमा आधारित कविता सुनाएका थिए।

























