चितवन १ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले चितवनको विकास र स्थानीय पालिकाका गतिविधिबारे चासो व्यक्त गरेका छन्। शनिबार जिल्ला समन्वय समिति चितवनमा आयोजित छलफल कार्यक्रममा उनले स्थानीयस्तरमा हुने समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। नेपालको स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको हुँदा यसको सदुपयोग गर्नुपर्ने उनकाे भनाइ छ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भरतपुर-१० स्थित गेष्टहाउस चौरसँगै रहेको खाली जमीनको उपयोग गरी पार्क निर्माणका लागि नीतिगत निर्णय गरिदिन मन्त्री ठगुन्नासँग अनुरोध गरे। पार्क निर्माण गर्ने ठाउँमा चितवन जिल्लाका मुख्य न्यायाधीशको आवासगृह छ। सो अवासगृह थारु छात्रबास नजिकै उपलब्ध गराउने गरी जिल्लाबाट निर्णयसमेत गरेर पठाइएको छ। ‘जिल्लाको सार्वजनिक जग्गा हेर्ने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले निर्णय गरेर मन्त्रालयमा पठाएको छ’, उनले भने।
मन्त्री ठगुन्नालाई पार्क निर्माणका लागि बनाइएको गुरुयोजनाका बारेमा समेत जानकारी गराइएको थियो। सो ठाउँमा रहेको एक बिघा पाँच कठ्ठा जमीनमा पार्क निर्माण गर्न लागिएको हो। कार्यक्रममा प्रदेशसभा सांसद विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको पनि उपस्थिति थियो। मन्त्री ठगुन्ना सौराहामा जारी बागमती प्रदेशका कार्यकारी अधिकृतको तीनदिने कार्यशालाको उद्घाटन गर्न चितवन आएका हुन्। – रासस
Facebook Comments


























