पोखरा, फागुन १ । गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो।
पोखरा रंगशालामा निकै रोमान्चक बनेको फाइनलमा पहिलो सेट गण्डकीले २५-२२ ले जितेको थियो। दोस्रो सेट २५-२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा गण्डकीले ३२-३० को जित निकाल्दै २-१ को अग्रता बनायो।
तर, चौंथो सेट आर्मीले २५-२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। पाँचौं सेटमा १५-११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो। उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ। उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो।
महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार नै भएको फाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। उपाधि जित्ने क्रममा पुलिसले डर्बी क्लब एपीएफमाथि २५-२२, २५-२२ र २५-२१ को सेटमा जित निकाल्यो। उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो।


























