चितवन, फागुन १ । चितवन मुवाँ थाई संघको आयोजनामा चितवनमा टप फाइभ मुवाँ थाई प्रतियोगिता हुने भएको छ। संघले शनिवार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १ गते प्रतियोगिता हुन लागेको जनाएको हो।
नेपालका उत्कृष्ट खेलाडी सहभागी हुने प्रतियोगितामा प्रो राउण्डतर्फ १२ जना खेलाडी सहभागी हुने चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए। प्रो राउण्डमा महिलाको एउटा तथा पुरुषको पाँच वटा फाइट हुने गुरुङले जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा नेपाल मुवाँ थाई संघका अध्यक्ष गणेश कक्षपतीले प्रतियोगितामा ४८ केजीतर्फ विश्व च्याम्पियनसहितका खेलाडी सहभागी हुने बताए। विश्व च्याम्पियन एपीएफ क्लबका सञ्जय राई थाइल्याण्डमा भएको प्रतियोगितामा स्वर्णपदक विजेता नेपाल आर्मीका गुणराज रुचाल सहितका खेलाडीको फाइट हुने कक्षपतीले जानकारी दिए।
उनकाअनुसार प्रतियोगिताको प्रो राउण्डमा महिलातर्फ ४८/५१ किलो तौल समूहमा नतिशा रानामगर र जेनिका राईको फाइट रहेको उनले बताए। त्यस्तै पुरुषतर्फ ५१/५४ तौल समूहमा सिनल चौधरी र सन्दिप तामाङ, ५७/६० तौलसमूहमा रोहित शाही र दावाफोर्जे तामाङ, ५३ केजी तौलसमूहमा कविन देशार र सञ्जय राई, ६० केजी तौलसमूहमा गुणराज रुचाल र वरुण घले तथा ह्याभी वेटतर्फ (८० केजी) रसिक जारी र सलम लेप्चाबीच फाइट हुने कक्षपतीले बताए।
त्यस्तै प्रतियोगितामा एमोचर समूहतर्फ तीन वटा फाइट गरिने भन्दै यो समूहमा फाइट बढ्न सक्ने कक्षपतीको भनाइ छ। प्रतियोगितामा सहभागी खेलाडीले १० हजार रुपैयाँ तथा विजयी हुने खेलाडीले थप पाँच हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए। चितवनमा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको मुवाँ थाई प्रतियोगिता भइसकेको छ। सो पत्रकार सम्मेलनमा चितवन मुवाँ थाई संघका प्रमुख सल्लाहकार ईश्वर सापकोटाले यो खेल रिङमा खेलाइने खेल भएकाले दक्ष खेलाडीले मात्रै खेल्ने बताए।
यो खेल आत्मरक्षाका लागि अति नै महत्वपूर्ण मानिने भएकाले महिलाहरुले मुवाँ थाई खेल सिक्नुपर्ने बताए। प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको दुई लाख रुपैयाँ बराबरको बिमा गरिएको समेत आयोजक चितवन मुवाँ थाई संघले जनाएको छ।


























