पोखरा, फागुन १ । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे सुरु हुनेछ। आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ। लिग चरणमा गण्डकीले आर्मीलाई ३-१ ले हराएको थियो। गण्डकी उक्त जितलाई निरन्तरता दिन चाहन्छ।
तर, आर्मी भने गण्डकीसँग लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ। महिलातर्फको फाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल अपरान्ह १२ बजे सुरु हुनेछ। उपाधिका लागि कोर्ट उत्रदा दुबै जित निकाल्ने योजनामा हुनेछन्। लिग चरणको भेटमा पुलिस विजयी भएको थियो। पुलिस त्यस जितलाई कायम राख्दै च्याम्पियन बन्न चाहन्छ।
तर, एपीएफ लिग चरणको हारको बदला लिने सोचमा हुनेछ। टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन्। यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्। सान्त्वना पुरस्कार १५ हजार राखिएको छ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन्।


























