पोखरा, माघ २८ । एपीएफ क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पुलिसमाथि २७-२५, २५-२०,२०-२५,९-२५ र १५-१० को सेटमा जित जित निकालेको हो। जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। पुलिसको यो पहिलो हार हो। पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई हराएको थियो। पुलिसले २ खेलमा ३ अंक जोडेको छ।
बुधबार नै भएको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ। पहिलो सेट २५-२२ ले आफ्नो बनाएपनि आर्मी स्तब्ध भएको हो।पुनरागमन जित निकाल्ने क्रममा गण्डकीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१८ र तेस्रो सेट २५-१७ ले आफ्नो बनाएको थियो। गण्डकीको यो पहिलो जित हो। जितसँगै गण्डकीले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा गण्डकी विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन्। यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्। सान्त्वना पुरस्कार १५ हजार राखिएको छ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन्।


























