काठमाडौं, माघ २८ । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो।
एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन्। यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन्। रौतहटको चन्द्रपुरविरुद्ध एपीएफले पहिलो मिनेटमै अग्रता बनाएको थियो। कप्तान अनिताले सावित्राले मिलाएको पासमा गोल गरेकी थिइन्।
खेलको छैटौं मिनेटमा सावित्राले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन्। सावित्राले एकल प्रयासमा एक डिफेण्डर र गोलरक्षक युनिशा राईलाई बिट गर्दै गोल गरेकी हुन्। खेलको ३३ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपीएफ ३-० ले अघि रह्यो। सावित्राले पेनाल्टी क्षेत्रको बाहिरबाट फ्रिकिकमा गोल गरिन्।
दोस्रो हाफमा एपीएफले थप पाँच गोल गर्यो। खेलको ४७ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै एपीएफलाई ४-० को अग्रता दिलाईन्। ५४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफको अग्रता ५-० को बन्यो। खेलको ६० औं मिनेटमा सावित्राले चौंथो गोल गर्दा एपीएफले ६-० को अग्रता बनायो। खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दा एपीएफ ७-० ले अघि रह्यो।
त्यसपछि खेलको ७९ औं मिनेटमा सावित्राले व्यक्तिगत छैटौं गोल गर्दा एपीएफले ८-० को सहज जित निकाल्यो। लिगमा एपीएफको यो आठौं जित हो। जितसंगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ। यो जितले एपीएफको उपाधि होड समेत बलियो बनेको छ। चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ। चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ। लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ। पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ। त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ।


























