काठमाडौं, माघ २८ । नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
‘शान्तिपूर्ण आन्दोलन विद्रोमा उत्रिए के हुन्छ ? यो संविधान निर्माण गर्दा २००४ सालमा राणाहरुले बनाएको संविधानदेखि तमाम् संविधान अध्ययन गरेर कस्तो संविधान बनाउँदा जनताको हित हुन्छ भनेर बनाइएको छ,’ दाहालले भने, ‘आजको उपस्थितीले अदालतलाई फैसला गर्न सहज भएको छ। त्यसो भएन भने आँधी आउँछ हुरि आउँछ कसैले थाम्न सक्दैन।’
उनले अदालत, निर्वाचन आयोग सबैले केपी ओलीको विपक्षमा फैसला गर्ने विश्वास आफूलाई रहेको पनि बताए। ‘संवैधानिक निकायहरुले केपी ओली जस्तो निरंकुश व्यक्तिको डरको भरमा फैसला गर्छन भनेर म पत्याउँ त ? जनताले पत्याउँछन् ?’ उनले भने, ‘केपी तिर लागेकाहरु फर्कन लामो लाइन छ। अरु त अरु उहाँसँग रहेका २ जना मन्त्री पनि फर्कन म सँग वार्ता गर्दैछन्।’
उनले ओलीलाई पदबाट राजीनामा दिएर पश्चताप गर्न पनि सुझाब दिए। ‘केपीजी तपाइँले साह्रै ठूलो अपराध गर्नु भयो। म सुझाब दिन्छु। राजीनामा दिनु र पश्चताप गर्नुस्। तर, तपाईँ निरकंशु हुँदै जानु भएको छ। तपाइँ जनताको भन्दा भगवानको शरणमा जानु भएको छ’ उनले भने।


























