काठमाडौं, माघ २८ । नेकपा दाहाल नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण नेपालको संविधान कोमामा गइसकेको बताएका छन्। उक्त समूहले काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्ध गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले ओलीले मनलाग्दी गरिरहेको बताएका हुन्।
‘यो संविधान कोमामा गइसकेको छ। केपी ओलीले मनलाग्दी गरेको छ। संवैधानिक नियुक्ति भइरहेको छ, कामचलाउ सरकारले कुनै पनि नियुक्ति गर्न सक्दैन,’ उनले भने, ‘मनपरि शासन गरिरहेको छ। मुलुकको रक्षाको लागि, संविधानको रक्षाको लागि सम्पूर्ण नेपाली एक हुन जरुरी छ। यदि यसो भएन भने संविधान, गणतन्त्रण विस्थापित हुनेछ।’
उनले ताजा जनादेशको नाममा पाँच वर्ष नपुग्दै चुनाव गराउने व्यवस्था संविधानमा नरहेको पनि बताए। ‘ताजा जनादेश भनेर बैशाखमा हुने भनिएको निर्वाचन नेपाली जनताले चिन्दैन,’ उनले भने, ‘संविधानले पाँच पाँच वर्षमा हुने निर्वाचन मात्रै चिन्छ।’


























