काठमाडौँ, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलेले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका छन्।
आमहड्तालको निरिक्षण गर्न काठमाडौंका विभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले अहिलेका कामचलाउ प्रधानमन्त्री ओली संविधान मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका हुन्। नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे।
अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेको उनले बताए। उनले ओलीले प्रतिनिधिसभाको ‘हत्या’ गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गरे। आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए।


























