काठमाडौं २२ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले लगानी जुटाइदिएपछि भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको इर्खुवा खोला जलविद्युत आयोजनामा ऋण लगानीकाे टुंगाे लागेकाे छ। लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गर्ने १४ दशमलव १५ मेगावाटको उक्त आयोजनामा माछापुछ्रे बैंकसहित नेपाल एसवीआई र ज्योति विकास बैंकले लगानी गर्ने भएपछि ऋण लगानीकाे टुंगाे लागेकाे हाे। गत मंगलबार भएको लगानी सम्झौतामा कम्पनीका अध्यक्ष कुमार पाण्डे र माछापुछ्रे बैंकका पूर्वाधार लगानी प्रमुख विनितचन्द्र झाले हस्ताक्षर गरेका छन्।

तस्बिर : विश्वेश्वर सुवेदी
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड मुख्य लगानीकर्ता रहेको आयोजनामा ३ बैंकबाट १ अर्ब ७२ करोड रुपैयाँ ऋण र प्रवर्द्वककहरूबाट ७१ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ। आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भने १३ मेगावाटमा टेक अर पे (लिउ या तिर) प्रावधानमा हुनेछ। अबको दुईवर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित लिएको आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ भने वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०७८/७९ भित्र करिब १५ करोड रुपैयाँबराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ।

तस्बिर : विश्वेश्वर सुवेदी
हाल आयोजनास्थलमा पहुँचमार्ग निर्माण, जग्गा प्राप्ती लगायतका काम भइरहेको छ भने बाँधदेखि विद्युतगृहसम्म पानी ल्याउन आवश्यक सुरुङ खन्ने काम भइरहेकाे छ। करिब दुई हजार पाँच सय मिटर लामो सुरुङमध्ये हालसम्म ८१० मिटर खनिसकिएको आयाेजनाले जनाएको छ। २ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिनेछ। कूल लागतको आधारमा आयोजना प्रतिमेगावाट १८ दशमलव ५० करोडमा पूरा हुने अनुमान गरिएको छ। कम्पनीका अनुसार बैंकहरूसँग लिएको ऋण आयोजनाबाट विद्युत् उत्पादन भएको १२ वर्षभित्र तिरिसक्ने लक्ष्य छ।

























