पोखरा, माघ १७ । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेबाट सुरु हुने भएको छ। आयोजक सहरा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको छ।
प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी गराए। यद्यपि क्लबका अध्यक्ष थापाले कोरोनाका कारण टिम र संख्या र विदेशी खेलाडीका आगमन बारे तत्काल भन्न नसकिने बताए। प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन।
गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो। गत वर्ष मनाङले १० लाख १ हजार प्राप्त गरेको थियो भने उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो।
कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए। उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिसदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
प्रतियोगिता संञ्चालन गर्न अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ। प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयँ अनुमानित आम्दानी हुने सहरा क्लबले विश्वास गरेको छ। क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।


























